You are here
Home > राजनीति > बिना मगरले प्रेस बिज्ञप्ती मार्फत प्रकाश दहाल र कन्चनपुरबासीलाई यसरी सम्झिन ।नेपाल न्युज

बिना मगरले प्रेस बिज्ञप्ती मार्फत प्रकाश दहाल र कन्चनपुरबासीलाई यसरी सम्झिन ।नेपाल न्युज

११ मंसिर २०७४, सोमबार ०४:४६

आदरणीय बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरू
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि संयुक्त वाम गठबन्धनको उम्मेदवारका रुपमा प्रचारप्रसारमा सक्रिय रहेको बेला मेरा जीवनसाथी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र एवम् पोलिटब्यूरो सदस्य क. साकार दाहाल ‘प्रकाश’को अल्पायूमै भएको असामयिक निधनले हामी सबैलाई मर्माहत बनाएको छ ।

 

निर्वाचनको महासंग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा मेरा लागि ठूलो चोट थियो । यो पीडामा मनलाई सम्हाल्दै चुनावमा होमिनु कठिन थियो ।

 

तर, अध्यक्ष क. प्रचण्डले भनेझैं हामी समृद्ध नेपालको ऐतिहासिक अभियानमा अघि बढेको बेला हामीमाथि आइपरेको व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई नयाँ समृद्ध युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस ग¥यौं । यही जिम्मेवारीबोधले परिवारमा घटेको अकल्पनीय दुर्घटनालाई हामीले शक्तिमा बदल्ने संकल्प लिन सक्यौं ।

हामीलाई धैर्यधारण गर्न र शोकलाई शक्तिमा बदल्न यहाँहरूले दिनुभएको साथ र सहानुभूतिका लागि म ऋणी छु । शोकाकूल र दुःखको यो कठिन घडीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनस्तरबाट हामीप्रति व्यक्त भएको सहानुभूतिले हामीलाई पुनर्जीवन र राष्ट्रप्रतिको थप जिम्मेवारीबोध महसुस भएको छ ।

अझ मेरो अनुपस्थितिमा पनि क्षेत्र नम्बर १ को समृद्धिको सपना आँखामा राखेर निर्वाचनको प्रचारप्रसारलाई अझैं गति दिन अहोरात्र जनतासँग खटिएर हिँड्नुहुने सम्पूर्ण साथीभाई, साथ दिने सञ्चारकर्मी र माया गर्ने बुबाआमा, दाजुभाई, दिदीबहिनीहरूमा कृतज्ञता र धन्यवाद प्रकट गर्दछु ।

मैले आफ्नो राजनीतिक यात्राको क्रममा सुख र दुःखमा सधैं तपाईहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईहरूमाझ फर्किएकी छु ।

पतिशोकमा परेको बेला सम्हालिन गाह्रो हुन्छ । तर, तपाईहरूको सद्भाव र क. प्रचण्डको निर्देशनले शोकलाई शक्तिमा बदल्ने प्रेरणा दिएको छ । यद्यपि दुःखको घडीमा पूर्ववत् रुपमा सशक्त भएर चुनावी मैदानमा होमिन सक्ने अवस्था नभएको कुरा यहाँहरूले बुझेर सहज रुपमा लिनुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।

कञ्चनपुरको दक्षिणी क्षेत्रलाई विकासित र समृद्ध बनाउने मेरो सपनालाई पूरा गर्न यहाँहरूले आसन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार र मलाई मतदान गरी विजयी गराउनु हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु । शोकको घडीमा सद्भाव प्रकट गर्नुहुने सबैप्रति पुनः हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद !

बिना मगर
(प्रतिनिधिसभा सदस्य उम्मेदवार), निर्वाचन क्षेत्र नम्बर १, कञ्चनपुर
(पोलिटब्यूरो सदस्य), नेकपा (माओवादी केन्द्र)