You are here
Home > प्रशासन > त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रिले अनशन बसेका केसी समर्थकहरुले टाँगेको टेन्ट प्रहरीले हटायो

त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रिले अनशन बसेका केसी समर्थकहरुले टाँगेको टेन्ट प्रहरीले हटायो

१५ माघ २०७५, मंगलवार १३:५८

अनशनरत प्रा.डा‍. गोविन्द केसीको समर्थनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनशन बस्न चिकित्सकहरुले टाँगेको टेन्ट सुरक्षाकर्मीले हटाइदिएका छन् ।

त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रिले अनशन बस्न केसीका समर्थकहरुले टाँगेको टेन्ट प्रहरीले हटाइदिएको हो । टेन्ट टाँगेर डाक्टर, रेजिडेन्ट डाक्टर र विद्यार्थीहरु रिले अनशन बसिरहेका थिए ।

त्रिवि शिक्षण अस्पताल प्रशासनले सोमबार प्रेस विज्ञप्ति निकालेर अस्पताल परिसरमा धर्ना, प्रदर्शन र अनशन जस्ता गतिविधि नगर्न अपिल गरेपछि सुरक्षाकर्मीले टेन्ट हटाइदिएको हो ।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई समस्या हुने जनाउँदै अस्पताल प्रशासनले आन्दोलनका कुनै पनि कार्यक्रम नगर्न सम्बन्धित पक्षलाई अपिल गरेको थियो ।

१६ औँ पटकको अनशन २१ दिन पुग्दा पनि सरकारले नसुनेको भन्दै चिकित्सकहरुले देशभर आन्दोलनको चेतावनी दिएका छन् । चिकित्सक स‌ंघले वार्ताका लागि दबाब दिन सोमबारदेखि देशभरका चिकित्सकलाई रिले अनशन बस्न अपिल गरेको छ ।

अहिले केसीका समर्थकहरु त्रिवि शिक्षण अस्पतालको चौर र सडकमै बसेर रिले अनशन गरिरहेका छन् ।