You are here
Home > साहित्य > कविताः यथार्थता

कविताः यथार्थता

२४ माघ २०७५, बिहीबार १४:१८
  • किरण विकिरण

सुन्दर बगैचापछाडि खनिएको कहाली लाग्दो खाडल
जहाँ हरेक दिन नारी अस्तित्वहरु लुटिएका छन
जहाँ विवश आवाजहरु बन्दि बनाइएका छन
त्यही खाडलभित्रको चिहानघारीमा
हजारौं आकांक्षाका लासहरु दफनाईएका छ्न् ।

मेरो देशभित्रको अर्को पृथक भौगोलिकता
जहाँ प्रत्येक कन्दराहरुमा
सयौं निर्मलाका रगतका फाल्साहरु दबाईएका छ्न
हिउँ फुल्ने हिमालहरुमा
रक्तरन्जीत चित्कार फुल्न थालेका छ्न् ।

आउ, जाऊँ ती पानी सुकेका गराहरुमा
हरेक चेलीका इच्छाहरु सामाजिक बन्धनमा बांधिएर
ङिच्च हाँसो हासिरहेछन्
नारीको अस्तित्वहरु न्यायको भिख मागिरहेका छ्न
हरेक मनोकांक्षाहरुका गला दबाइएका छ्न् ।

कुरीतिको बिरोध गरे उच्छृङ्खलताको संज्ञा दिने गर्छन्
सुन्दरताको नाममा ती निरीह नारी अस्तित्व
महलमा मुर्ति बनाएर सजाइएका छन्
सडकमा आत्मसम्मान बेच्न राखिएका छ्न् ।

देख्यौ हैन ? हो यही हो !

नारी अस्तित्वको दुहाइ दिने
पुरुषप्रधान समाजको हैकम निर्बाध चलिरहने
यही नै हो सिर्फ तिम्रो देशको यथार्थता ।

सानोठिमी, भक्तपुर ।
  • 224
    Shares