You are here
Home > साहित्य > कविताः आस्था

कविताः आस्था

५ फाल्गुन २०७५, आईतवार २३:०५
  • गिरिप्रसाद बुढा

संकष्ट पर्दा मन गल्न दिन्नौँ, जंगी रणमा सपना जले’नि

संसार जित्ने तन ढल्न दिन्नौँ, आफै अडिने अखडा ढले’नि

जस्तोसुकै त्यो अवरोध छेकोस् यात्रा रोकिन्न भुमरी चले’नि

ढल्दैन आस्था अझ उठ्छ साथी हामीहरुमै तकडा ढले’नि ।

 

छोरा र छोरी घरका सबैमा, आस्था खुवायौँ कखरा चिनायौँ

भोकै र नाङ्गै सपना पिलायौँ, आफै हिँडेको पथमा हिँडायौँ

आस्था सजायौँ घर आँगनीमा, दामी बनायौँ खटिया यसैको

ओछ्यान् बनायौँ डसना बनायौँ, नामी बनायौँ तकिया यसैको ।

 

प्यारो छ आस्था मुटुमा बसेको, सन्देश छर्ने पदचाप चाल्छु

मुठ्ठी उचाली हर अन्धतामा, राँको उकेल्ने म मसाल बाल्छु

आस्था चनाखो दरिलो छ हाम्रो, तारा खसे तापनि छोप्न सक्ने

आस्था असाध्यै बलियो छ हाम्रो, चिर्को परे तापनि रोक्न सक्ने ।

 

‘आस्था’ यसैले गिरि, कन्दरामा, तान्दै लछारेर खडा बनायो

‘आस्था’ यसैले हर जिन्दगीमा, हान्दै पछारेर कडा बनायो

‘आस्था’ त हाम्रो सब थोक हो यो, आस्था नत्यागौँ बरु प्राण त्यागौँ

सारा विधामा समता भएको, संसारमा यो इतिहास लेखौँ ।

  • छन्दः आख्यानकी

  • 69
    Shares