You are here
Home > राजनीति > अधिनायकवाद होइन समाजवाद आइरहेको छ-प्रधानमन्त्री ओली

अधिनायकवाद होइन समाजवाद आइरहेको छ-प्रधानमन्त्री ओली

२० चैत्र २०७५, बुधबार १७:०९

काठमान्ठाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिनायकवाद आएको नभई समाजवाद आइरहेको बताएका छन्।

राजधानीस्थित एक होटेलमा आयोजित राष्ट्रिय विकास परिषदको बैठकमा १५ औं योजनाबारे छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अधिनायकवाद आएको छ भन्ने टिप्पणीको कुनै औचित्य नभएको बताएका हुन्।

‘देश अधिनायकवादतिर गयो भन्ने कुराको कुनै औचित्य छैन, अहिले देश समाजवादतर्फ बढिरहेको छ, प्रधानमन्त्री ओलीले भने, ‘देश तीव्र गतिका साथ अगाडि बढिरहेको छ।

देश आगामी ५ वर्षमा कसैले सोच्न नसकिने गरी विकसित हुने बताउंदै प्रधानमन्त्री ओलीले भोकमरीले कोही नेपाली मर्नु नपर्ने बताए।

‘अब नेपालमा भोकमरीले कोही पनि मर्दैन, प्रधानमन्त्री ओलीले भने, ‘केही गरीबी र असमानता छ, त्यसलाई समाधान गर्नका लागि केही समय लाग्न सक्छ । हामीले अनिवार्य चाहिने जति समय लिएका छौं कि चाहिने भन्दा बढी अनावश्यक समय लिएका छौं त्यो विचार गर्छौं।

राष्ट्रिय विकास परिषदमा भएका छलफलहरूले दीर्घकालीन फाइदा पुर्याउने विचार राख्दै प्रधानमन्त्री ओलीले भने, ‘यहाँ भएका छलफल र टिप्पणीलाई ‘सम अप’ गरेर राखिनेछ।

ओलीले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गरेका छन्।

परिषदका अध्यक्ष समेत रहेका उनले निरक्षरता उन्मुलन गर्ने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ खाद्य बस्तु उत्पादन गर्ने, ठूलो मात्रामा बस्तुहरुको उत्पादन गरेर निर्यात व्यापारको बढाउँदै लैजाने सरकारको योजना रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष भित्र पूर्वाधार विकासलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्दै त्यसलाई अव तीव्रताका साथ अघि बढाउने योजना पनि अघि सारे।

राष्ट्रिय विकास परिषदको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, संघीय संसद विषयगत समितिका सभापतिहरु, सांसदहरु, विज्ञहरुसहित ३ सय ५० जनाभन्दा बढिको सहभागिता रहेको छ।