You are here
Home > प्रवास > आइपीयुमा सभामुख महराको सम्बोधन-नेपालले लोकतन्त्र र मानवअधिकारको प्रवर्द्धन गरेको उल्लेख

आइपीयुमा सभामुख महराको सम्बोधन-नेपालले लोकतन्त्र र मानवअधिकारको प्रवर्द्धन गरेको उल्लेख

२५ चैत्र २०७५, सोमबार १४:२५

दोहा। सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४० औं सभालाई सोमबार सम्बोधन गरेका छन्।

आइपियूको सभामा सभामुख महराले ‘संसद शान्तिका लागि शिक्षा, सुरक्षा र कानुनी शासन सुदृढ गर्ने मञ्च ‘ विषयमा केन्द्रित रहेर सम्बोधन गरेका हुन्।

सभालाई सम्बोधन गर्दै सभामुख महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार, समानता र कानुनी शासनको संरक्षण र प्रवर्द्धन गर्दै आएको उल्लेख गरे।

सम्बोधनका क्रममा सभामुख महराले शान्ति स्थापना र प्रजातान्त्रिक परिवर्तनमा आइपीयूले खेलेको भूमिकाको प्रशंसा गरे।

राजनीतिक अन्तरक्रिया र ठोस कार्यमार्फत् शान्ति स्थापना र सकारात्मक प्रजातान्त्रिक परिवर्तनको लागि अन्तर(व्यवस्थापिका संघले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु ,उनले भने।

राजनीतिक नेतृत्व र विधायकहरुले आफ्ना देशका विशिष्ट आवश्यकता र विकासको अवस्थालाई ध्यान दिँदै उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिदै सभामुख महराले सकारात्मक परिवर्तनतर्फ जनप्रतिनिधिहरुको संस्थाको रुपमा रहेको संसदले भूमिका खेल्ने बताए।

‘जनताको प्रतिनिधिको रुपमा संसदले कानून निर्माण, बजेटरी नियन्त्रण र सरकारका नीति तथा कार्यक्रमको निरीक्षणमार्फत् सकारात्मक परिवर्तन स्थापित गर्न सक्छ, सभामुख महराले भने ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरुले देशका विशिष्ट आवश्यकताहरु लाई ध्यान दिई नीति निर्माण गर्नुपर्दछ।

नेपालले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा पहिचान गरेको भन्दै सभामुख महराले द्वन्द्व र संकटको समयमा बालबालिकाको शिक्षाको अधिकार कुण्ठित हुनबाट जोगाउने प्रयास गरिएको बताए।

नेपालले सन् २०३० सम्ममा आम नागरिकको न्यून आयबाट मध्यम आयमा रुपान्तरण गर्ने लक्ष्यमा शिक्षालाई प्राथमिकता दिइएको सभामुख महराले बताए।

विद्यालय क्षेत्र सुधार योजनाले सबै बालबालिकालाई विभेद नहुने गरी सुरक्षित वातावरणमा सिकाइको अवसर प्रदान गर्ने लक्ष्य लिएको भन्दै सभामुख महराले शिक्षा र सचेतना अभिवृद्धि गर्ने कार्यमा सरकारी संयन्त्र मात्र नभइ अन्य सरोकारवाला र साझेदारहरु समेत लागिपरेको बताए।

सबैलाई समावेशी र समतामूलक शिक्षाको अवसर प्रदान गर्नु दिगो विकास लक्ष्यको एक आयाम रहेको बताउँदै सभामुख महराले यसको लागि राज्यले शिक्षालाई प्राथमिकता दिनु आवश्यक रहेकोमा जोड दिए।

‘महिला, अल्पसंख्यक वर्ग र अन्य सीमान्तकृत समूहलाई न्याय सुनिश्चित गर्न सरकार र समाजका अन्य क्षेत्रको सामुहिक प्रयास आवश्यक रहन्छ, उनले भने, ‘गरिबी, असमानता र असुरक्षाको विरुद्ध लड्न र सांस्कृतिक, धार्मिक तथा वैचारिक विविधताप्रति सहिष्णुता र सम्मान कायम गर्न शिक्षा शक्तिशाली साधन हो।

आइपीयूको सभामा गरिएको छलफलले शान्ति र सुरक्षासहितको समतामूलक र न्यायिक समाज निर्माणमा जनप्रतिनिधिहरुको योगदान थप स्पष्ट हुनेमा उनले विश्वास व्यक्त गरे।

चैत २३ गतेदेखि शुरु भएको आइपीयूको १४० औं सभामा एक १६७ देशका १ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन्।

  • 6
    Shares