You are here
Home > राजनीति > नेपाल टेलिकमलाई विश्वसनीय बनाउन सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

नेपाल टेलिकमलाई विश्वसनीय बनाउन सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

३० चैत्र २०७५, शनिबार १५:०२

जनकपुरधाम । सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निष्ठा, उत्तरदायी र जवाफदेही वहनलेनै देश, संस्था र जीवनको हित हुने बताएका छन्।

नेपाल टेलिकम जनकपुरधाम कार्यालयद्वारा आज आयोजित छलफल कार्यक्रममा उनले टेलिकमको गरिमालाई बचाइ आमजनताको मन जित्ने विश्वसनीय संरचना, व्यवस्थापन र क्रियाशीलताको खाँचो औंल्याए।

उनले वर्तमान गतिले टेलिकमको भविष्य उज्ज्वल हुन नसक्ने उल्लेख गर्दै उनले एकातर्फ रूवावासीको अवस्था रहेको र अर्कोतर्फ युनियनले स्वायत्तताको माग अघि सार्नु चिन्ताको विषय रहेको बताए।

मन्त्री बाँस्कोटाले पलरपलमा लापरबाही प्रस्ट भइरहेको स्थितिमा नेपाल टेलिकमलाई पहिलो बनाउने विश्वसनीय आधार आमजनतासमक्ष प्रस्तुत गर्नु गहन चुनौती देखिएको चर्चा गर्दै कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिए।

टेलिकमलाई आम नागरिकले अपनत्व बोध गर्नसक्ने गरी ल्याएको शेयर वितरण कार्यक्रमलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने दिशामा व्यवस्थापन र कर्मचारीको सकारात्मक पहलको आवश्यकता रहेको पनि उनले धारणा व्‍यक्त गरे।

उनले सिम परिवर्तनका प्रणालीलाई स्थानीय तहमा विस्तार गरी अनलाइन सेवा उपलब्ध गराउनमा ध्यान केन्द्रित गरी नेटवर्किङ्ग समस्याको समाधान गर्न पहलको आवश्यकता औंल्याए। कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जनकपुर कार्यालय प्रमुख चिन्मय आनन्द र कर्मचारीले विद्यमान समस्याबारे जानकारी गराएका थिए।रासस