You are here
Home > समाज > भारतमा आँधीहुरीबाट ९ को मृत्यु, काठमाडौंमा पनि आँधीहुरीको सम्भावना, सतर्क रहन आग्रह

भारतमा आँधीहुरीबाट ९ को मृत्यु, काठमाडौंमा पनि आँधीहुरीको सम्भावना, सतर्क रहन आग्रह

४ बैशाख २०७६, बुधबार १८:०९

काठमाडौं। भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ। मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन्।

मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ।

राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको छ। भारतको नयाँ दिल्ली र गुरगाउँ, नोइडा लगायतका क्षेत्रमा हुरीको असर देखिएको बताइएको छ।

यस्तै बिहार, झारखण्ड, उत्तर प्रदेश लगायतका क्षेत्रमा समेत त्यसको असर देखिएको थियो।मौसमविद् गंगा नगरकोटीले राजस्थानको असर नेपालमा पनि पर्न सक्ने बताइन्।

उनले पश्चिमी वायुको प्रभावले नै राजस्थानमा त्यस्तो घटना भएको जनाउँदै पश्चिमी वायु नेपालको दक्षिण पश्चिम भागमा प्रवेश गरेको जनाइन्। उनले संघीय राजधानी काठमाडौंमा पनि दिउँसो १–२ बजे सम्ममा हुरी बतास आउन सक्ने उनको भनाइ थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशै भरी सामान्य देखि पूर्णबदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा र असिना पानीको सम्भावना रहेको छ।

देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको जनाइएको छ।

आज राति पनि देशै भरी सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्यम वर्षा र असिना पानीको संभावना रहेको तथा तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको जनाइएको छ।

भोलि बिहीबार पनि वर्षाको सम्भावना रहेको र त्यसैगरी शुक्रबार पनि अधिकांश भूभागमा मौसम बदली हुने महाशाखाले जनाएको छ।

  • 26
    Shares