You are here
Home > अर्थ/बजार > हिमालय एयरलाइन्सले तिरेन २१ करोड कर

हिमालय एयरलाइन्सले तिरेन २१ करोड कर

१० बैशाख २०७६, मंगलवार १२:२९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत हिमालय एयरलाइन्सले सरकारलाई २१ करोड रुपैयाँ तिर्नु बाँकी रहेको छ।

निजी क्षेत्रबाट हवाई सेवा सञ्चालन गरिरहेको हिमालय एयरलान्सले विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत २१ करोड ४२ लाख १३ हजार रुपैयाँ तिर्न बाँकी रहेको हो।

हिमालय एयरलायन्सले सरकारलाई तिर्नुपर्ने रकम गत फागुन मसान्तसम्मको भएको नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सको विमानतर्फको कुल बक्यौता १४ करोड ५२ लाख ९५ हजार २ सय १० रुपैयाँ र हवाई हेलिकप्टर तर्फको ६ करोड ८९ लाख १८ हजार २ सय ८१ रुपैयाँ बक्यौता रहेको छ।

प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सलाई रकम भुक्तानीका लागि पटक–पटक पत्राचार गरिएपनि हिमालय एयरलाइन्सले भुक्तानी गरेको छैन।

‘विभिन्न समयमा पत्राचार भइरहेको छ प्राधिकरणका ती अधिकारीले ‘हवाई सेवा प्रदायकले बेलाबेलामा भुक्तानी पनि गरिरहन्छन्। विमानस्थल सेवा शुल्क नियमावलीमा नै तिर्नुपर्ने रकमको निश्चित प्रतिशत रकम जरिवाना तोकिएको छ।

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार प्राधिकरणले रकम भुक्तानीका लागि बिलजारी गरेको मितिले ३० भित्र भुक्तानी गरिसक्नुपर्छ।

३० दिनसम्म रकम झुक्तानी नगरेमा ४५ दिनसम्म भुक्तानी गर्नुपर्ने रकमको ५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था नियमावलीमा गरिएको छ। बिलजारी गरेको १ हप्ताभित्र बक्यौता रकम तिरेमा कुल रकमको ३ प्रतिशतसम्म छुट दिइने व्यवस्था समेत नियमावलीमा गरिएको छ।

४५ दिनदेखि ५९ दिनसम्म बक्यौता रकम भुक्तानी गरेमा १५ प्रतिशत जरिवाना र ६० दिनदेखि माथि ३० प्रतिशत जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

हवाई सेवा तथा विमानस्थल परिसरभित्र विभिन्न कारोबार गरिरहेका संस्थाबाट नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार शुल्क लिँदै आएको छ।