You are here
Home > प्रवास > किम-पुटिन शिखरवार्ता : उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट

किम-पुटिन शिखरवार्ता : उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट

१२ बैशाख २०७६, बिहीबार १३:३९

उत्तर कोरियाली नेता किम जङअन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच रहेको सम्बन्धलाई अझै सुदृढ बनाइने बताएका छन्।

बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा पहिलो पटक भेट भएको हो।

दुई नेताको शिखरवार्तामा रुसले दुई पक्षबीच कोरियाली प्रायस्द्वीपको ‘परमाणु समस्या’को विषयमा वार्ता हुने बताएको छ। तर किमले चाहिँ अमेरिका सँग वार्ता विफल भएपछि अब रुसको समर्थन खोज्ने अपेक्षा गरिएको छ।

डोनल्ड ट्रम्प र किमले यो वर्षको सुरुमा हानोईमा उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमबारे शिखरवार्ता गरेका थिए। तर उनीहरूको बैठक कुनै सहमतिबिना सकिएको थियो।

आफ्नो मन्तव्यमा पुटिन र किमले दुई देशबीच रहेको ऐतिहासिक सम्बन्धबारे उल्लेख गरेका थिए।पुटिनले कोरिया प्रायस्द्वीपमा विद्यमान तनाव मत्थर पार्ने आफ्नो इच्छा प्रकट गरे।

किमको न्यानो अभिवादन
पुटिनसँग पहिलो पटक भेट्न किम बुधवार रेल चढेर भ्लादिभोस्तोक पुगेका थिए। त्यहाँ पुग्नेबित्तिकै उनले रुसी अधिकारीहरूलाई न्यानो अभिवादन गरेका थिए।

त्यहाँ किम कारमा चढ्दै गर्दा एक साङ्गीतिक टोलीले मनोरञ्जन दिएको थियो।“म हाम्रा जनताको न्यानो भावना लिएर रुस आएको छु। मेरो आशा छ यो भ्रमण सफल र उपयोगी हुनेछ,” किमले खसनमा सीमा पार्दै गर्ने क्रममा रुसी टेलिभिजनसँग भने।

“सम्माननीय पुटिनसँगको भेटमा कोरियाली प्रायस्द्वीपको अवस्था सुधार्ने र हाम्रो दुईपक्षीय सम्बन्ध सुधार्ने विषयमा ठोस ढङ्गले कुराकानी हुने मेरो आशा छ।

रुस र उत्तर कोरिया के चाहन्छन् ?
रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभको भनाइमा क्रेमलिन उत्तर कोरियाको विषयमा जारी छ पक्षीय वार्ता फेरि सुरु हुनुपर्ने पक्षमा छ। उसको भनाइमा त्यो वार्ता प्रक्रियामार्फत् कोरियाली प्रायस्द्वीपमा परमाणुअस्त्रको विवादलाई सम्बोधन गर्न सकिन्छ।

सन् २००३ मा सुरु गरिएको त्यो वार्तामा दुई कोरिया, चीन, जापान, रुस र अमेरिका सहभागी हुने गरेका छन्। तर त्यस्तो बहुपक्षीय वार्ता केही समययता अवरुद्ध हुँदै आएको छ।

यो रुसका लागि पनि कोरियाली प्रायस्द्वीपमा आफ्नो प्रभाव कायमै छ भनेर देखाउने अवसर हो।

हालै उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका कारण अमेरिकासँगको वार्ता विफल भएको बताएको थियो। उसले पोम्पेओलाई वार्ता प्रक्रियाबाटै हटाउनु पर्ने माग गरिसकेको छ।