आनन्द पुन, काठमाडौं ।
“अरुलाई अरुकै चिन्ता, घरज्वाईलाई खानाकै चिन्ता” भन्ने उखान कर्णालीमा आजकल पुरानो भइसक्यो । “अरुलाई अरुकै चिन्ता कँडेललाई, मुख्यमन्त्री बन्ने चिन्ता” भन्ने उखान कर्णालीमा आजकल समय सान्दर्भिक छ । प्रदेश सांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका यामलाल कँडेललाई फेरि एकपटक मुख्यमन्त्री बन्ने हुटहुटी जागेको छ । त्यसका लागि उनले आजकल फेसबुके अभियान चलाइरहेछन् र कर्णाली प्रदेश सरकार परिवर्तनको हल्लालाई मिडियाबाजी गरिरहेछन् । यही भदौं १ गते एक राष्ट्रिय टेलिभिजनसंगको अन्तर्वातामा “कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने साथीले नैतिकताका आधारमा पदबाट राजीनामा दिने समय ढिला भैसक्यो ।” भन्दै कँडेलले कर्णाली प्रदेश सरकार विरुद्ध अभिव्यक्ति दिदै थिए । संयोगवस त्यही बेला सत्तारुढ नेकपाले पार्टी भित्रको विवाद अन्त्य गर्न भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदनको बुँदा नम्बर २।३ मा “समस्या समाधानका लागि सार्थक प्रयास भइरहेको यस बिशेष परिस्थितिमा अध्यक्षद्धय,सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटी लगायत सबै तहका कमरेडहरुले आपसमा अविश्वास र अन्तरबिरोध सिर्जना गर्ने तथा पार्टीको एकता प्रक्रियामा प्रतिकुल प्रभाव पार्ने प्रकृतिका निर्णय, क्रियाकलाप वा अभिव्यक्ति नगर्ने” भन्ने कुरा उल्लेख छ । तर कर्णाली प्रदेशमा सांसद कँडेलले आफ्नै पार्टीको सरकार विरुद्ध फेसबुके अभियान चलाउँदै मिडियाबाजी गरेर विवादको सुरुवात गरिरहेका छन् । यस्तो कार्य गर्नेलाई कम्युनिष्टहरुले अराजक भन्छन् । तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले अराजक नेता कार्यकर्ताबारे भनेका छन्, ‘आफूले सोचेजस्तो र भने जस्तो भएन भने अराजक नेता कार्यकर्ताहरु आक्रोशित हुन्छन्, कुण्ठा पोख्छन्, मनोगततामा लिप्त हुन्छन्, उनीहरुमा सत्तालालसाको हुटहुटी हुन्छ, आफ्नो बारेमा चर्चा परिचर्चा होस् भन्ने मोह हुन्छ र ‘प्रोपोगन्डा’ चलाउनु उनीहरुको विशेषता हो । पार्टी नीति विपरीत अस्तव्यस्तता निर्माण गर्नु पनि उनीहरुको धर्म नै हो ।’

कँडेलको फेसबुके मुख्यमन्त्री अभियान र मिडियाबाजीले उनी अराजक हुन् वा होइनन् यो भनिरहनु परेन । उनले गरेको गतिबिधि नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनको नीति विपरीत पक्कै छ । आफू समर्थक कार्यकर्ताहरुलाई फेसबुकमा स्टाटस लेख्न लगाउनु पनि पार्टी नीति विपरीत नै हो । उनी समर्थक कार्यकर्ताले अबको केही दिनमै कर्णाली प्रदेश सरकार परिवर्तन हुने पक्का, यामलाल कँडेल मुख्यमन्त्री हुने पक्का, सुर्खेतले रोजेको, कर्णालीले खोजेको यामलाल जस्ता स्टाटस लेख्दै फेसबुके मुख्यमन्त्री अभियान चलाईरहनु पनि पार्टी नीति विपरीत नै हो । हुनत कँडेल बिरोधी पक्षधरले सामाजिक सञ्जालमा लेखेर उनको बिरोध गर्नुपनि पार्टी नीति विपरीत नै हो । तर यसको सुरुवात कँडेल आफैले गरेका हुन् । त्यसर्थ यो कँडेलकै गल्तिको प्रतिसोधमा उनका बिरोधीले गरेको सामान्य त्रुटी मात्र हो भन्न सकिन्छ ।

फेसबुकमा मुख्यमन्त्री हुने हल्ला चलाएर मुख्यमन्त्री हुने भए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध भीम आचार्य, प्रदेश ३ का डोरमणी पौडेलविरुद्ध अष्टलक्ष्मी शाक्य, प्रदेश ५ का शंकर पोखरेल विरुद्ध कुलप्रसाद केसी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध प्रकाश शाहले यस्तै अभियान चलाउने थिए । उनीहरुले पार्टी केन्द्रको सहमतिलाई आत्मसाथ गर्दै दृढतापूर्वक पार्टी एकतामा जोड दिइरहेछन् र यस्ता अभियान त्यहाँ शुन्यप्रायः छन् । तर कर्णालीमा कँडेलले मुख्यमन्त्री बन्न विभिन्न समयमा विभिन्न फण्डा मच्चाउँदै हिटलरको संचारमन्त्री ‘गोयबल्स’को सिको गर्न छोडिरहेका छैनन् । उनी किन पटक पटक यस्तो गरिरहन्छन् भन्ने प्रश्नको उत्तरमा एकजना कर्णाली प्रदेश सभाका सांसद भन्छन्, ‘उनी आफू मुख्यमन्त्री हुन नपाएकोमा के गरौ र कसो गरौं भन्ने अवस्थामा पुगेर छट्पटाइ रहेका छन् । यो उनको व्यक्तिवादी चरित्रको अभिव्यक्ति हो ।’

कँडेलले आफू नै मुख्यमन्त्री हुनुपर्छ भन्दै मच्चाएका ५ फण्डा

हुनत सांसद कँडेलले आफू नै कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुपर्ने दाबी गर्दै ढाई बर्षको अवधिमा विभिन्न ५ फण्डा मच्चाए । उनको पहिलो फण्डा हो, पार्टी केन्द्रको सहमति अस्वीकार । २०७४ सालको मंसीरमा भएको आम निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने गरि चुनावी तालमेल गरे । कँडेल मुख्यमन्त्रीकै लागि प्रदेश सभामा चुनाव लडे । चुनावी तालमेल नहुँदा उनी जित्थे वा हार्थे त्यो फरक कुरा हो । तर चुनावी तालमेलले कर्णाली लगायत मुलुकभर वामगठबन्धनको दुइतिहाई बहुमत आयो । २०७५ जेठ ३ गते दुइ कम्युनिष्ट पार्टीबीच एकता भयो । पार्टीका शीर्ष नेताहरुले सहमति गरेर संघीय र प्रदेश सरकारको नेतृत्व बाँडफाँड गरे । पार्टी शिर्ष नेताहरुको सहमति अनुसार कर्णाली प्रदेश तत्कालीन माओवादी केन्द्रलाई दिने निर्णय गर्दा कँडेलले मुख्यमन्त्रीको दाबी सहजै छोडेनन् । सरकार गठनका लागि प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने अन्तिम दिनसम्म पनि कँडेल आफू नै मुख्यमन्त्री हुनुपर्छ भन्ने दाबी सहित ही‘ही गर्दै घीडघीडाए  । तर केन्द्रीय नेतृत्वको निर्देशनपछि कँडेल पछाडी हटे र उनकै प्रस्तावमा २०७४ फागुन ३ गते महेन्द्र बहादुर शाहीको नेतृत्वमा सरकार गठन भयो । यो कँडेलको पहिलो असफल फण्डा थियो ।

दोस्रो फण्डा हो मुख्यमन्त्रीलाई संसदीय दलको नेता बन्न नदिने फण्डा । चुनावपछि कर्णाली प्रदेशमा पूर्व माओवादी केन्द्रबाट संसदीय दलको नेता शाही बने भने पूर्व एमालेमा कँडेल । तर पछि पार्टी एकता भयो । सहमति अनुसार शाही संसदीय दलको नेता सहजै हुनुपर्नेमा कँडेलले संसदीय दलको नेता बन्नबाट मुख्यमन्त्री शाहीलाई अवरोध गरिरहे । आफू संसदीय दलको नेता बन्न उनले अन्तिमसम्म प्रयास गरे । पार्टी एकता भएको ७ महिनासम्म कर्णालीमा संसदीय दलको नेता चयन हुनै दिएनन् । अन्ततः मुख्यमन्त्री नै संसदीय दलको नेता बन्ने केन्द्रको निर्देशनपछि कँडेलले घुँडा टेके र २०७५ पुस २ गते शाही दलको नेता चुनिए । त्यसपछि कँडेलको दोस्रो फण्डा हावामा बिलायो ।

उनको तेस्रो फण्डा हो अविश्वासको प्रस्ताव । कँडेलले आफू मुख्यमन्त्री हुन नपाएको झोकमा २०७६ कार्तिकको अन्त्यतिर आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने धम्की दिए । उनले यस्तो धम्की दिनुको पछाडी भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीलाई पदमुक्त प्रमुख कारण थियो । नक्कली बैंक ग्यारेन्टीपत्र बनाएको अभियोग लागेपछि मुख्यमन्त्री शाहीले २०७६ साउन ३१ गते खत्रीलाई पदमुक्त गरेर ३ महिनासम्म पनि अर्को मन्त्री नबनाएपछि अविश्वास प्रस्ताव ल्याउने धम्की दिए । यो उनको आक्रोशको परिणाम थियो । तर यो धम्की एक राष्ट्रिय दैनिक पत्रिकाले सार्बजनिक गरेपछि उनी संकटमा परे र सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पछी हट्न बाध्य भए ।

सांसदको हस्ताक्षर संकलन गरेर कर्णाली प्रदेश सरकार परिवर्तन गर्ने कँडेलको चौथो फण्डा थियो । यो फण्डा कार्यान्वयन गर्ने जिम्मेवारी उनले एक जना समर्थक कार्यकर्तालाई दिएका थिए । कँडेलले यो फण्डा गत फागुनको अन्त्यतिर गरे । उनको यो फण्डा जब संचारमाध्यममा सार्बजनिक भयो । तब उनी रुन्चे अनुहार लिएर संचारकर्मी सामु प्रकट भए र कँडेल पत्रकार सम्मेलन गर्न बाध्य भए । त्यसपछि उनको मुख्यमन्त्री बन्ने सपना त्यतिवेलाका लागि तुहियो ।
यीनै र यस्तै फण्डाहरुकै सिलसिलामा कँडेलले चलाएको अर्को पाँचौ फण्डा हो आजभोलीकै फेसबुके मुख्यमन्त्री अभियान र मिडियाबाजी । यो अभियानले कँडेलको फेसबुक र मिडियामा मुख्यमन्त्री बन्ने रहर त पुरा भएको छ तर कर्णालीकै मुख्यमन्त्री बन्ने सपना पुरा हुने हो वा होइन रु त्यो भने केही समय हेर्न बाँकी छ । उनका समर्थक र शुभचिन्तकले मनका लड्डु घ्यूसंग नखाऊन् यत्ति कामना गरौं ।

कँडेल मुख्यमन्त्री हुनै सक्दैनन् त ?

कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री हुनु हुँदैन वा हुनै सक्दैनन् भन्ने होइन । अझ उनी कर्णाली प्रदेश सभाको सबैभन्दा वरिष्ठ सांसद हुन् । उनी मुख्यमन्त्री हुने भनेरै संघीय प्रतिनिधि सभाको उम्मेद्वार छोडेर प्रदेश सभा सांसद भएका हुन् । उनी कर्णाली प्रदेशमा नेकपाका शिर्ष नेताहरुको तेस्रो सूचीमै पर्दछन् । पार्टीका शिर्ष नेताहरुबीच कँडेललाई कर्णालीको मुख्यमन्त्री बनाउने सहमति भए दुनियाँको कुनै पनि तागतले रोक्न पनि सक्ने छैन । तर यसका लागि शिर्ष नेताहरु उनलाई मुख्यमन्त्री बनाउन सहमत हुनुपर्नेछ । अन्यथा उनले फेसबुके अभियान र मिडियाबाजी गर्दै फण्डा मच्चाएर मुख्यमन्त्री बन्ने सपना देखेका हुन् भने त्यो उनकै लागि ‘आकाशको फल आँखा तरी मर’ हुनेछ र अभियान चलाउनुको कुनै तुक हुने छैन ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तनको संभावना कति ?

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संभावना न्यून छ । संभावना नभएकै कारण कँडेलले जनदबाब सिर्जना गरेर भएपनि कर्णालीको जनसुमदायले आफूलाई मुख्यमन्त्री देख्न चाहेको भन्ने माहौल सिर्जना गरेर शिर्ष नेतालाई दबाब दिन चाहेका हुन् । उनको चाहाना अनुसार नै समर्थक कार्यकर्ताले फेसबुक र मिडियाबाजी गरेको सहजै बुझ्न सकिन्छ । पार्टी केन्द्रको विवाद हल गर्न पूर्व एमालेले पाएका चार प्रदेश मध्ये दुईवटा प्रदेशमा वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुलाई मुख्यमन्त्री दिने सहमति भने पक्कै हुनेछ । त्यसका लागि प्रदेश १ मा भीम आचार्य र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनसक्ने बढी संभावना छ । उनीहरु दुबै जना माधव नेपाल पक्षधर नेताहरु हुन् । नेकपाका एक प्रभावशाली नेताका अनुसार अन्य प्रदेश सरकार परिवर्तनको हल्ला, हल्लामै सीमित हुने छ ।

कँडेलले गर्ने नैतिकताका कुरा

कँडेलले हालै एक संचारमाध्यमलाई अन्तर्वाता दिदै नैतिकताका आधारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने तर्क पेश गरेका छन् । हुन त समाजका सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन । कुनैपनि व्यक्ति नैतिक, इमानदार र सदाचारी हुनैपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनैपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ । नैतिकता भन्ने कुरा यही त हो । तर अरुबारे नैतिकताका कुरा गर्ने सांसद कँडेलले प्रमुख प्रतिपक्ष दलकै नेता बराबर सेवासुविधा लिनुलाई के भनिन्छ रु सुर्खेतमै घर भएर पनि घरभाँडा हसुर्नु कँडेललाई कहाँका कम्युनिष्टहरुले सिकाएको नैतिक पाठ हो रु न ठेकेदार, न व्यापारी न जमीनदार तर पनि सांसद हुने बित्तिकै काठमाडौंमा घर ठड्याउने कँडेलको आयश्रोत के हो रु २०५५ सालमा पर्यटनमन्त्री हुँदा जहाज र कार्यालय समेत नभएको ‘चेज एअर’ नामको कम्पनिबाट बोइङ–७५७ भाँडामा ल्याउने सम्झौता गरेर ९ करोड रकम हसुरेर क–कसलाई बाँडियो रु आफ्नै पार्टीका नेताहरुलाई मन्त्री बनाउँदा उनीहरुबाट उठाइएको रकम चन्दा हो कि अनुदान रु कँडेलले यसको जवाफ दिने कि नदिने रु यो नैतिकता र सदाचारको परिभाषा भित्रै पर्छ की पर्दैन रु ‘अरुको शरीरको जुम्रा देख्नेले आफ्नो शरीरमा भैसी उक्लेको त देख्नु पर्ने नी रु’ यसर्थ कँडेलले गरेको नैतिकताको कुरामा कुनै तुक छैन ।

अन्त्यमा परिस्थिति आफू प्रतिकूल हुँदाहुँदै पनि कँडेलले किन मुख्यमन्त्रीका लागि पटक पटक र्याल चुहाउँछन् त भन्दा यो उनमा देखिएको व्यक्तिवादी अराजकता हो । कम्युनिष्टहरुको परिभाषामा व्यक्तिवादी अराजकता भनेको आफू केन्द्रित हुनु हो । व्यक्तिवादी प्रवृतिले आफू नै सर्वेसर्वा, आफू नै ज्ञानी, आफू नै सर्वोपरि ठान्दछ । कँडेलमा भएको यही व्यक्तिवादी प्रवृतिले पार्टी केन्द्रको सहमति विपरीत कार्य गर्न उक्साइरहेछ । अर्को उनको सुर्खेत वाहेकका जिल्ला र साविकको कर्णालीलाई हेर्ने विभेदकारी दृष्टिकोण हो । सुर्खेत बाहेक अन्य जिल्ला र साविकको कर्णालीका मान्छेहरु मान्छे नै होइनन्, यिनीहरुले खान पनि जान्दैनन्, यिनीहरुलाई बोल्न पनि आउँदैन भन्ने कँडेलको तुच्छ र कमजोर सोचाइ छ । यही सोचाइले कँडेलले साविकको कर्णालीबाट मुख्यमन्त्री र मन्त्री भएका नेताहरुले काम नै गर्न सकेनन् भन्दै मुख्यमन्त्री आफै हुनेपर्ने तर्क गरिरहन्छन् । यो साविकको कर्णालीलाई हेप्ने कँडेल कुदृष्टि हो । आफूलाई मनपरेन भन्दैमा फेसबुक र मिडियाबाजी गरेर मुख्यमन्त्रीको चरित्र हत्या गर्ने उनका अन्धभक्त कार्यकर्तालाई कँडेलले बेलैमा निर्देशन दिऊन् र पार्टी नीति विरोधी गतिविधि रोकुन् । अन्यथा कँडेलको भावि राजनीति यात्रा ओरालो हुने निश्चित छ । चेतना भया  ।

(लेखक नेकपाका प्रदेश स्तरका नेता हुन् ।)